काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’मा कभर गाउने वा अभिनय गर्ने प्रतिभालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ। निर्माण टिमले सोमबार उक्त गीतलाई लक्षित गर्दै कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको हो।
प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर सङ गाउनुपर्नेछ भने अभिनयमा रुचि भएकाले अभिनयसम्बन्धी भिडियो तयार गर्नुपर्नेछ। सहभागीले आफ्नो विधाअनुसार तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ। सो अवधिभित्र अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिनेछ।
उत्कृष्ट भिडियो छनोट गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनका अनुसार भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्न अनिवार्य छ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ। निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीको मुख्य भूमिका रहेको छ।
फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्। कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ भने छायांकन डीओपी नवराज उप्रेतीले गरेका हुन्।
अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। करण सिंह रसाली कार्यकारी निर्माता हुन्।
नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ। फिल्म आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने तय भएको छ।
News Filmy Newsportal / Nepal