काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो ।
महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दालाई देखाउने प्रयास गरेको छ ।
अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एक–अर्कालाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने कुरा टिजरमा देख्न सकिन्छ ।
प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटनाहरू टिजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र कलर टोनले फिल्मको माहोल प्रस्तुत गरेको छ । टिजरले दर्शकलाई स्पष्ट रूपमा साइकोलोजिकल थ्रिलको अनुभूति गराउने प्रयास गरेको देखिन्छ ।
निर्माण टिमले टिजरसँगै फिल्मको नयाँ रिलिज मिति पनि सार्वजनिक गरेको छ । अब यो फिल्म माघ १६ गते रिलिज हुनेछ । यसअघि फिल्म पुस १० गते प्रदर्शन गर्ने तयारी गरिएको थियो ।
बलिराम चौहानको निर्देशनमा बनेको ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानीको मुख्य भूमिका रहेको छ । फिल्ममा बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि देखिनेछन् ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको फिल्म ‘द ब्ल्यू लाइट’का सह–निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन् । कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन्।
नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर तथा दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
News Filmy Newsportal / Nepal