काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ ।
सार्वजनिक गीत ‘मिरमिरे भो’को भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम कथा छ । सिर्जनाको सुन्दरतामा मोहित भएका दयाहाङ र प्रकाशलाई देखाएको छ । यो गीतले फिल्ममा त्रिकोणात्मक प्रेम कथा पनि रहेको संकेत गरेको छ, जुन यो फिल्मको टिजरमा पनि देखिएको छ ।
माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिरमिरे’मा बुवाको भूमिकामा दयाहाङ राई छन्, जसको छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
News Filmy Newsportal / Nepal