फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ ।

क्याची गीतले फिल्मको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले फिल्मको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको छ ।

गीतको भिडियो, शब्द र संगीतले फिल्मको बेस कमेडी रहेको प्रष्ट्याएको छ । गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ ।

पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । सबै कुरामा अब्बल हुँदा पनि पढाई मात्रै कमजोर हुँदा त्यसले समाज र साथीभाइबीच पार्ने नकारात्मक प्रभावलाई गीतले देखाएको छ ।

गम्भीर विष्टले कोरियोग्राफी गरेको भिडियोमा मरिचमान केन्द्रमा छन् । उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि राम्रो स्थान पाएका छन् ।

फिल्म ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ । ‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गरेका छन् । छायांकन सकेको यो फिल्म अहिले पोस्टप्रोडक्सनमा छ ।

बल्छी धुर्वे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो फिल्ममा बल्छी र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको फिल्ममा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो फिल्मको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

Leave a Reply