काठमाडौं। गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरिएको छ । हलमा प्रदर्शित फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले फिल्मप्रति दर्शकको आकर्षण अझ बढाउने उद्देश्यले आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।
गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट, गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाल देखिएका छन् । यस गीतले फिल्मप्रति दर्शकको आकर्षण अझ उत्कर्षमा पुर्याउने विश्वास निर्माण टिमको छ ।
शुक्रबार फिल्म रिलिज भएसँगै निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकार गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल तथा लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले फिल्म उत्कृष्ट बनेको भन्दै नेपालको वर्तमान अवस्थालाई यथार्थ रूपमा चित्रण गरिएको प्रतिक्रिया दिएका छन् ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको फिल्म हालसम्म युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेन–जी नेता सुदन गुरुङलगायतले हेरिसकेका छन् । उनीहरूले फिल्म साँच्चिकै राम्रो बनेको र हरेक नेपालीले हेर्नै पर्ने बताएका छन् । नेपालको वर्तमान अवस्थालाई सन्देशमूलक ढंगले प्रस्तुत गरिएकाले फिल्म ‘झरीपछिको इन्द्रेणी’ दर्शकको रोजाइमा पर्ने उनीहरूको बुझाइ छ ।
यस फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई पनि फिल्मप्रति आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ । फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथामा बनेको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । फिल्ममा बाल कलाकार दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने छायांकन बुद्ध थापाले गरेका छन् । अनिशा सेन्दाङ लिम्बू फिल्मकी निर्मात्री हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यस फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ । एक इमानदार कर्मचारी तथा बाबुको संघर्षको कथा पनि फिल्मले प्रस्तुत गर्नेछ ।
फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता रहेका छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।
News Filmy Newsportal / Nepal