काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँ बाट सोमबार फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण टिमका अनुसार ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेसनहरूमा फिल्म खिचिनेछ ।
फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो संकेत गरे पनि यसले एक लोभी केटा कसरी दानी बन्छ भन्ने विषयलाई रोचक ढंगले प्रस्तुत गर्ने निर्देशक तथा निर्माता माओत्से गुरुङले बताएका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
गुरुङ फिल्मका ‘गडफादर’ का रूपमा परिचित माओत्सेको यो दोस्रो निर्देशित फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘दयारानी’ बक्स अफिसमा सफल भएको थियो । यस फिल्ममा पनि ठूलो स्टारकास्ट रहेको छ।
दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर लगायत ।
फिल्मलाई चर्चित छायांकार सुशन प्रजापति ले खिचिरहेका छन् भने संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नेछन् ।
माओत्से गुरुङ फिल्मस् को ब्यानरमा निर्माण हुने यस फिल्ममा मीन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ र सपना गुरुङको लगानी रहेको छ । फिल्मलाई देशभर वितरण गर्ने जिम्मा आरआर फिल्मस् रोहित कट्टेल र रत्न श्रेष्ठले लिएको छ ।
पछिल्लो समय चरित्र अभिनेताका रूपमा पहिलो रोजाइमा रहेका माओत्से गुरुङ अब लेखन र निर्देशनमा पनि उत्तिकै सक्रिय देखिएका छन् ।
News Filmy Newsportal / Nepal