फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक

काठमाडौं । आगामी माघ २३ गते (भ्यालेन्टाइन डेको अवसरमा) प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको यो गीतमा केहर सिंह लिम्बु को स्वर तथा सुमन तामाङ को शब्द रचना रहेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभण्डारी फिचर्ड छन् । उनीहरूबीचको आत्मीयता र रोमान्टिक मुडले गीतलाई युवा दर्शकमाझ प्रभावशाली बनाउने अपेक्षा निर्माण टिमको छ ।

‘आइ एम सरी‘, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल लभस्टोरी फिल्म निर्देशन गरेका दिनेश राउत पछिल्ला वर्षहरूमा ‘प्रसाद’, ‘प्रकाश’, र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयवस्तुमा केन्द्रित थिए । लामो समयपछि उनी ‘कुमारी’ मार्फत पुनः आफ्नै पुरानो र रुचाइएको लभस्टोरी जनरामा फर्किएका हुन् । यसले गर्दा पनि यो फिल्मलाई लिएर दर्शकमाझ विशेष चासो छ ।

फिल्ममा अबिषेक र आकृतिका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, निर्मल शर्मा लगायतका कलाकारको अभिनय छ ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । विकास सुवेदीको कथा रहेको फिल्मलाई सुसन प्रजापति ले खिचेका हुन् ।

फिल्मलाई काठमाडौं उपत्यकामा डिसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन् ।

Leave a Reply