काठमाडौं। पौष ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । यससँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् ।
सेन्सर बोर्डका पदाधिकारीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । २ घण्टा १९ मिनेट लामो फिल्मले मनोरञ्जनसँगै गहिरो सन्देश दिने उनीहरूको बुझाइ छ । हालै नेपालमा घटेका घटनाको झल्को दिने कथावस्तु फिल्ममा सूक्ष्म ढंगले प्रस्तुत गरिएको निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको गीत ‘आम नेपाली बुबा’ सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको चासो बढेको छ । निर्माण पक्षले यसको प्रभाव बक्स अफिसमा देखिने अपेक्षा गरेको छ ।
फिल्म सेन्सर पास भएसँगै अग्रीम टिकट बुकिङ खुलाइएको छ । क्युएफएक्स, आईएनआई, बिग मुभिज र एफक्युब सिनेमाजलगायत मल्टिप्लेक्स चेनले बुकिङ खुलाएका छन् । प्रारम्भिक चरणमा क्युएफएक्सले काठमाडौं उपत्यकामा ११ र मोफसलमा ११ गरी २२ शो दिएको छ । आईएनआईले ६, बिग मुभिजले २ र एफक्युब सिनेमाले २ शो दिएका छन् । अन्य हलमा भने बुकिङ खुल्ने क्रम जारी रहेकाले बिहीबार साँझसम्म अन्तिम शो सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि पर्दामा फर्किँदैछन् । छायांकनका लागि उनी अमेरिका छाडेर नेपाल आएका थिए । फिल्ममा गणेशसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय छ ।
फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले अभिनय डेब्यू गरेका छन् । बाल कलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिने छन् । फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा प्रस्तुत भएका छन् ।
निर्देशक घिमिरेकै कथामा बनेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । बुद्ध थापा छायांकार हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेको फिल्मका सह–निर्माता अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की छन् । लाइन प्रोड्युसर योगेश खतिवडा र विनोद कँडेल हुन् ।
News Filmy Newsportal / Nepal