‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक गरिएको छ। उक्त गीत आइतबार राति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा बालेन शाहको र्‍याप तथा लय समावेश गरिएको छ भने गणेश उप्रेती, कमलमणी नेपाल, सृजना अधिकारी र भोलाराज सापकोटालगायत कलाकारको अभिनय देख्न सकिन्छ। गीतमा दीक्षा उप्रेतीको स्वर रहेको छ।

कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आगामी पुस ४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। फिल्म नागराज इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको हो।

फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय रहेको छ। साथै बाल कलाकारका रूपमा दिप्सन चिलवाल पनि देखिनेछन्।

निर्देशक घिमिरेकै कथामा बनेको फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले संयुक्त रूपमा लेखेका हुन्। बुद्ध थापाको छायांकन रहेको यस फिल्मका निर्माता अनिशा सेन्दाङ लिम्बु हुन्। सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।

Leave a Reply