काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज ललितपुरस्थित लाविम मलमा एक विशेष कार्यक्रमकाबीच झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटल को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
प्रदीप शाही निर्देशित यो फिल्म साइन्स–फिक्सनमा आधारित छ । निर्देशक शाहीले पत्रकार सम्मेलनमा बोल्दै पूर्वीय आध्यात्मिक परम्परा लाई आफूले पश्चिमा जनरा का तत्वसँग मिश्रण गरेको बताए । ‘एक्लो’ उनको तेस्रो निर्देशन हो ।
फिल्मले खतरनाक भाइरसका कारण सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाडेको भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि हिमाल क्षेत्रमा क्रास-ल्यान्डिङ गर्ने बेलायती अन्तरीक्षयात्री ज्याक (जेमी बेकन) ले पहाडको बीचमा रहेको गुफाभित्र हिमालय क्षेत्रको पौराणिक संरक्षक एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का) लाई भेट्ने कथा यसमा समेटिएको छ । बाँकी कथालाई दोस्रो अध्यायमा देखाउने जानकारी निर्देशक शाहीले दिए ।
फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले व्यस्तताका बाबजुद टिम र फिल्मको विषयवस्तु मन परेर काम गरेको बताए । उनले फिल्मले टेक्निकल र अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउनेमा विश्वास व्यक्त गरे ।
पुस १७ गते देखि नेपालसहित विश्व बजारमा प्रदर्शनमा आउने तयारीमा रहेको ‘एक्लो’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल को ७८औँ संस्करणमा विभिन्न कार्यक्रममा सहभागिता जनाएको थियो ।
डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेज (Museum of the Moving Image) मा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर हुने तय भइसकेको छ ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ । साथै बेलायती अभिनेता जेमी बेकन को समेत महत्त्वपूर्ण भूमिका समावेश गरिएको छ ।
News Filmy Newsportal / Nepal