नेपाली फिल्म ‘आँखा’ ले जित्यो एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड : हङकङका सुपरस्टार साइमनले दिए अभिनेत्रीलाई अवार्ड

काठमाडौं। नेपाली फिल्म ‘आँखा’ ले मलेसियामा सम्पन्न ६२औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड जित्न सफल भएको छ।

नेपाललाई अन्तर्राष्ट्रिय सिने–मञ्चमा नयाँ परिचय दिलाउँदै ‘आँखा’ ले यस प्रतिष्ठित अवार्डमा विजयी बन्दै इतिहास रचेको हो।पुरस्कार ग्रहण गर्नका लागि फिल्मकी प्रमुख अभिनेत्री स्मिता लामिछाने क्वालालम्पुर पुगेकी थिइन्।

उक्त अवार्ड उनलाई यही महोत्सवमा लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मानित भएका हङकङका विश्वप्रसिद्ध अभिनेता साइमन याम ले प्रदान गरेका थिए।

अवार्ड प्राप्त गरेपछि अभिनेत्री लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै लेखेकी छन्— “यो हाम्रो सम्पूर्ण टिमका लागि ठूलो उपलब्धि हो। कथा र यात्रामा विश्वास गर्ने कलाकार, प्राविधिक टोली र दर्शकलाई हार्दिक धन्यवाद।”

निर्देशक जोन योन्जनको निर्देशनमा तयार भएको ‘आँखा’ मा स्मितासँगै पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।


फिल्मले सुकुम्बासी बस्तीमा बसोबास गर्ने सामान्य मानिसहरूको जीवन, सङ्घर्ष र यथार्थलाई गहिरोसँग चित्रण गरेको छ।

यस अवार्ड प्रतिस्पर्धामा नेपालबाट अर्को फिल्म ‘शाम्बाला’ पनि सहभागी थियो। ‘शाम्बाला’ ले ‘आँखा’ संगै अन्तिम उत्कृष्ट पाँच फिल्मको सूचीमा स्थान बनाउन सफल भएको थियो।
तर अन्तिम चरणमा ‘आँखा’ ले ‘शाम्बाला’ सहित अन्य तीन देशका फिल्मलाई पछि पार्दै ‘उत्कृष्ट फिल्म’को अवार्ड हात पार्न सफल भयो ।

Leave a Reply