काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी फिल्म ‘कुमारी’ को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ । निर्माण टिमले गीतसहित फिल्मको प्रदर्शन मिति आगामी माघ २३ गते ९भ्यालेन्टाइन डेको अवसरमा लाई घोषणा गरेको छ ।
युवा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको यो फिल्मको निर्माण घोषणा टुँडिखेलमा आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गीतको लाइभ प्रस्तुतिसहित गरिएको थियो । गायक केहर सिंह लिम्बु को ब्याण्ड ‘केहर एन्ड द लुङ्गा’ ले प्रस्तुत गरेको यो गीत हाल जेनजी पुस्ताबिच निकै लोकप्रिय बन्दै गएको छ ।
फिल्मको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभण्डारी छन् । यी दुवै कलाकारले यो फिल्मबाट मुख्य भूमिकामा डेब्यु गरेका हुन् । उनीहरूका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्कालगायतका कलाकार पनि फिल्ममा देखिनेछन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
विकास सुवेदीको कथा लेखन रहेको यस फिल्मको छायांकन निर्देशन सुसन प्रजापति ले गरेका छन् । यो फिल्ममा चार गीत रहनेछन् र सबैमा स्वर केहर सिंह लिम्बुले दिएका छन् ।
फिल्मलाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुबेर सिने डिष्ट्रीब्युसनले वितरण गर्दैछन् ।
News Filmy Newsportal / Nepal