‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने?

काठमाडौं । लामो समयदेखि प्रदर्शन मिति सर्दै आएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ अन्ततः मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदैछ । यस फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवालगायतका कलाकारहरू पहिलो पटक मुख्य भूमिका (लिड रोल) मा देखिँदैछन् ।

दुई दशकदेखि फिल्म क्षेत्रमा सक्रिय कामेस्वर चौरसिया ले यस फिल्ममार्फत पहिलो पटक सोलो लिडको अवसर पाएका छन् । त्यस्तै, अभिनेत्री लक्ष्मी बर्देवा को पनि मुख्य भूमिकामा रहेर रिलिज हुन लागेको यो पहिलो फिल्म हो । यी दुई कलाकारले आफूलाई प्रमाणित गर्न कडा मेहनत गरेका छन् ।

यो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेल ले बनाएका हुन् । ‘पूर्ण बहादुरको सारङ्गी’ ले नेपालमा करिब ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको थियो । ऐतिहासिक रूपमा सफल फिल्मका निर्माताको दोस्रो सिर्जना कस्तो छ भनेर थाहा पाउन यो फिल्म हेर्नुपर्नेछ ।

निर्माता पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’ मा जस्तै यस पटक पनि अरू निर्माताले लिडमा अफर नगरेका कलाकारहरूलाई मुख्य भूमिका दिएर जोखिम उठाएका छन् । यो पटक पनि उनले किन यस्तो ‘रिस्क’ लिए, त्यसको जवाफ खोज्न पनि दर्शकहरू हलसम्म जानुपर्नेछ।

फिल्मको कथावस्तुमा मधेसको विषयवस्तु र एउटा भोजपुरी फ्लेभरको गीत समावेश गरिएको छ । मुख्य अभिनेता मधेसी मूलको राखिएकाले पूरै मधेसको कथा छ वा अन्य विषय समेटिएको छ, यसका लागि पनि ‘अभिमन्यु’ हेर्नुपर्नेछ ।

सुशान्त गौतम निर्देशित ‘अभिमन्यु : च्याप्टर–१’ मा कामेश्वर र लक्ष्मीसँगै सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । फिल्म नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

Leave a Reply