‘हर्ष’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । भोलि (शुक्रबार) अर्थात् मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’ को बुधबार ललितपुरस्थित लबिम मलमा भव्य प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मी, निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।

लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा पुगेकी अभिनेत्री निरुता सिंहले एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ एकदमै राम्रो बनेको प्रतिक्रिया दिइन्।

“फिल्मको सुरुवातमै स्वर्गीय निर्देशक शिव रेग्मीको तस्वीर देखेपछि म भावुक भएँ। ‘हर्ष’ एकदमै सन्देशमूलक फिल्म हो। यस्तो घटना हाम्रो घर–परिवार तथा समाजमा पनि घट्ने गरेको मैले देखेकी छु। त्यसैले एक पटक अवश्य हेर्नुहोला,” उनले भनिन्।

स्वर्गीय निर्देशक शिव रेग्मीकी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन्। “१२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन्, हाम्रो परिवारमा पनि आज त्यस्तै भएको छ। १२ वर्षपछि भान्जी एकता पौडेलले फिल्म निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन्,” उनले बताइन्।

अभिनेता खगेन्द्र लामिछानेले आफूले पहिलो पटक फरक किसिमको फिल्म गरेको अनुभव सुहाउँदो सकारात्मक प्रतिक्रिया पाएपछि खुशी लागेको बताए। अभिनेत्री वर्षा राउतले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया सुन्दा हर्षित भएको बताइन्।

डेब्यु निर्देशक एकता पौडेलले ‘मामाको झल्को दिन सफल भएको’ भन्ने प्रतिक्रियाले आफूलाई आगामी दिनमा अझै उत्कृष्ट फिल्म निर्माण गर्न प्रेरणा तथा चुनौती दुवै मिलेको बताइन्।

‘हर्ष’ मा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ललगायत कलाकारहरूको अभिनय समावेश छ।

Leave a Reply