काठमाडौं। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको पारिवारिक फिल्म ‘मन बिनको धन’ ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ । फिल्म टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर फिल्म हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो ।
निर्माता तथा निर्देशक टंक बुढाथोकी का अनुसार जन्मदिनलाई विशेष बनाउन दर्शकलाई हाम्रो तर्फबाट सानो उपहारू स्वरूप टिकट रकम फिर्ता गरिने हो ।
बालगायक अशोक दर्जी को मुख्य भूमिका रहेको यो फिल्मले प्रदर्शनमा आएको २० दिनमै ३ करोड ६० लाखभन्दा बढी व्यापार गरिसकेको निर्माण टिमले जनाएको छ ।
अशोक दर्जीको वास्तविक जीवन घटनामा आधारित यो फिल्म हेरेपछि दर्शकले उनलाई अँगालो हालेर रुने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । गुरु–शिष्य सम्बन्ध र शिक्षाको महत्वलाई समेटेको कथाले सबै उमेर समूहका दर्शकलाई हलतिर आकर्षित गरेको छ ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको दमदार अभिनय छ ।
अफर घोषणासँगै सार्वजनिक गरिएको ‘ह्याप्पी बर्थडे’ गीतमा टंक बुढाथोकी, मेलिना राई, अन्नु चौधरी, अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको छ । गीतका शब्द, संगीत तथा एरेन्ज सबै टंक बुढाथोकीकै हुन् ।
News Filmy Newsportal / Nepal