“कलेक्सनले मात्र फिल्म ठूलो/सानो भन्नुपर्छ”: निर्माता विनोद पौडेलको ‘अभिमन्यु’ बारे तर्क

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल ले आफ्नो फिल्म लाई सानो नभन्न आग्रह गर्दै फिल्म को आकार त्यसले गर्ने कलेक्सनबाट मात्र निर्धारण हुने बताएका छन् । उनले कास्टिङ र बजेटले मात्र सिनेमालाई ठूलो भन्न नसकिने तर्क गरेका छन् ।

पौडेलका अनुसार, स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा सानो सिनेमा हो भन्नु हुँदैन । यसलाई उनको अघिल्लो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले पनि पुष्टि गरेको उनको भनाइ छ । डेढ करोडमा बनेको सो फिल्म ले नेपाली बक्सअफिसमा ४६ करोड ८० लाखभन्दा धेरै कलेक्सन गरेर नयाँ रेकर्ड बनाएको थियो ।

विनोद पौडेलले आफ्नो नयाँ सिनेमा ‘अभिमन्यु’ लाई ‘अन्डर डग’ हरूको फिल्म भन्दै नहेप्न चेतावनी दिएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’ आगामी मंसिर १८ गते रिलिज हुँदैछ ।

सुशान्त गौतमले निर्देशन गरेको यो फिल्म मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल लगायत मुख्य भूमिकामा छन् ।

यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने तयारीमा छ ।

Leave a Reply