काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली फिल्म ‘स्त्री’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गते देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । मिति घोषणासँगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ ।
सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका जीवन शाही का लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो । नारी–केन्द्रित सामाजिक कथामा तयार भइरहेको यो फिल्मको हाल पोस्ट–प्रोडक्सनको काम चलिरहेको छ ।
फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन् । बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन् ।
मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई को निर्माण रहेको यस चलचित्रमा निर्देशक शाहीकै कथा समावेश छ ।
पटकथामा शाहीलाई किशन अर्याल ले सहयोग गरेका छन् । रामशरण उप्रेती को छायांकन र बाबुल गिरी को संगीत रहेको छ ।
‘स्त्री’ को डिजिटल अधिकार ओएसआर डिजिटल ले खरिद गरिसकेको छ भने फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले देशभर वितरण गर्नेछन् ।
News Filmy Newsportal / Nepal