काठमाडौं । रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने नयाँ फिल्म ‘बब डाई’ को छायांकन सुरु भएको छ । गएको सोमबार शुभमुहूर्तसँगै चन्द्रागिरीबाट फिल्मको छायांकन सुरु गरिएको हो ।
यसअघि ‘मोक्ष’ फिल्म निर्देशन गरेका प्रबिन श्रेष्ठ ले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार ‘बब डाई’ मा किर्तिपुरकै कथा समेटिएको छ । उनले फिल्मको नाम नेवारी ट्युनमा दाइलाई ‘डाई’ भनिने भएकाले त्यसरी राखिएको बताए ।
फिल्ममा सौगात मल्ल ‘बब डाई’ को मुख्य भूमिकामा देखिनेछन् । सौगातसँगै फिल्ममा सिम्रन पन्त, सन्तोष पन्त, बिशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहनेछ ।
निर्माण टिमले ‘बब डाई’ को ४५ दिनको छायांकन तालिका तोकेको छ, जुन काठमाडौंको किर्तिपुर र चन्द्रागिरी आसपासमै हुनेछ ।
निर्माण पक्ष: फिल्मको कथा मैनिषा गौचन र प्रबिन श्रेष्ठ को रहेको छ । राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् ।
फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।
News Filmy Newsportal / Nepal