‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईँ गुन्जिए, गान्तोकमा हजारौँ दर्शकको उत्साह

काठमाडौं। शुक्रवार (नोभेम्बर २१) बाट भारतमा रिलिज हुन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली फिल्मप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुष्टि गरेको छ ।

नेपालका लोकप्रिय गायक सुजन चापागाईँ ले फिल्मका गीतहरू प्रस्तुत गर्दै वातावरण रोमाञ्चक बनाए । उनीसँगै अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान लगायत फिल्म टिमका सदस्यहरू उपस्थित थिए । सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरूले पनि कार्यक्रममा आफ्ना प्रस्तुति दिएका थिए ।

‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा रिलिज हुँदैछ । वितरणको जिम्मा एसली प्रोडक्सन ले लिएको छ ।

फिल्मको विशेष प्रिमियर शो आज (बिहीबार) साँझ सिक्किममा आयोजना गरिएको छ ।

नेपालमा करिब १२ करोड रुपैयाँभन्दा बढी बक्स अफिस कमाई गरेको ‘ऊनको स्वीटर’ ले भारतमा पनि यथार्थपरक कथा र मन छुने सङ्गीतका कारण सोही लोकप्रियता दोहोरिने अपेक्षा निर्माण भएको छ ।

निर्देशक नवीन चौहान ले नेपालमा जस्तै भारतमा पनि फिल्मले उल्लेखनीय सफलता पाउने विश्वास व्यक्त गरे ।

Leave a Reply