मन बिनाको धन’ आज बाट दुई करोड क्लबमा, कतारमा पनि दुवै शो हाउसफुल

काठमाडौं। बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’ आजबाट दुई करोड क्लबमा प्रवेश गर्दै सफलताको यात्रा तर्फ अघि बढेको छ। पहिलो सातामा १ करोड ६७ लाख २३ हजार २ सय २४ रुपैयाँको व्यापार गरेको फिल्मले रिलिजको आठौँ दिनसम्म बक्स अफिस कलेक्सन २ करोड नाघेको देखिन्छ।

‘जारी २’ र ‘परान’ जस्ता दुई ठूला फिल्मको कडा प्रतिस्पर्धाबीच पनि ‘मन बिनाको धन’ले प्रदर्शनमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। नेपालसँगै कतार, युएई र बहराइनमा समेत फिल्मले हाउसफुल शो भइरहेको रिपोर्ट आएको छ।

गत बिहीबारदेखि कतारमा प्रदर्शन सुरु भएको फिल्मले बिहीबार र शुक्रबारका दुबै शो हाउसफुल बनाउँदै नयाँ रेकर्ड कायम गरेको छ। कतारमा दुई शो नै हाउसफुल हुने पहिलो नेपाली फिल्म बनेको वितरक हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले जानकारी दिएका छन्। युएई र बहराइनमा पनि व्यापार निकै राम्रो रहेको उनीहरूको भनाइ छ।

नेपालमा प्रदर्शनको पहिलो दिनदेखि नै अधिकांश हलमा हाउसफुल शो दिँदै आएको फिल्मले दर्शकको मन जितिरहेको छ। अशोक दर्जी र राम सरको भूमिकामा देखिएका नव–नायक रमेश विश्वकर्मालाई राजधानीमा भेट्दा दर्शकहरू रोइरहेका र अँगालो मारिरहेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

स्कुले विद्यार्थीदेखि उनीहरूका अभिभावकसम्म फिल्म हेरेर रुँदै हलबाट निस्किएको दृश्यहरू पनि सार्वजनिक भएका छन्। टंक बुढाथोकी निर्देशित फिल्मका शो कम भएको कारण धेरैले टिकट नपाएको गुनासो गरिरहेका छन ।

Leave a Reply