नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा प्रदर्शन हुने

काठमाडौं । नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ ।

आर्टमान्डूले निर्माण गरेको यस फिल्मलाई भारतमा एसली प्रोडक्सन ले वितरण गर्नेछ । निर्देशक नवीन चौहान का अनुसार, नोभेम्बर २१ देखि फिल्म दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानहरूका हलहरूमा पहिलो चरणमा प्रदर्शन गरिनेछ ।

प्रिमियर र हलहरू फिल्मको भारत प्रिमियर रिलिजको एक दिन अघि नोभेम्बर २० मा सिक्किम मा हुने भएको छ । प्रिमियरमा नेपालबाट अभिनेता विपिन कार्की र एलेक्स पारस सहित कलाकार तथा निर्देशक चौहान लगायत सहभागी हुनेछन् ।

फिल्मले भारतको चलचित्र प्रमाणीकरण बोर्डबाट सेन्सर पास पाइसकेको छ । दार्जिलिङस्थित एसभिएफ सिनेमा, सिक्किमको डेन्जोङ सिनेमा र वेस्ट बंगालको आईएनओएक्स सिलिगुडी लगायतका प्रतिष्ठित हलहरूले प्रदर्शनका लागि स्क्रिन प्रदान गरिसकेका छन् ।

गत वैशाख २६ गते नेपालमा सार्वजनिक भएको ‘ऊनको स्वीटर’ देशभरका करिब ४० हलमा ५१ दिनसम्म प्रदर्शन भई वर्षकै चर्चित फिल्ममध्ये एक बनेको थियो ।

नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको यस फिल्मले नेपाली समाजका वास्तविक भाव र बुझाइलाई स्पर्श गर्ने कथा वाचनका कारण दर्शक र समीक्षक दुवैबाट प्रशंसा पाएको छ ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Leave a Reply