काठमाडौं । आगामी माघ १६ गते बाट रिलिज मिति घोषणा गर्दै फिल्म ‘आ बाट आमा’ ले दुईवटा पोस्टर सार्वजनिक गरेको छ । बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरी दुई पोस्टर सार्वजनिक गरेको हो ।
‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने स्लोगन राखिएको फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ ।
पोस्टरमा कलाकारहरू विपना थापा, प्रदीप रावत, पल शाह लगायतलाई एकातर्फ खुसीमुद्रामा देखाइएको छ भने अर्को पोस्टरमा उनीहरू सबै भावुक छन् । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका विपना र प्रदीप अँगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य छन् ।
ग्रामीण परिवेशमा आधारित यो फिल्मलाई चन्द्र पन्त ले निर्देशन गरेका हुन् । निर्देशक पन्तकै लेखन र पटकथामा निर्माण भएको यो फिल्ममा आर्या पन्त को प्रस्तुति रहेको छ ।
फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको विदेश प्रदर्शन अधिकार केही देशमा बिक्री भइसकेको छ । हिमारु इन्टरटेन्मेन्ट प्रा.लि. ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ ।
फिल्मको वितरणको जिम्मा आरआर फिल्मस् ले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ ।
News Filmy Newsportal / Nepal