काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ लाई दर्शकले मन पराएका छन् । फिल्मको सफलतासँगै निर्माण टिमले आज (मंगलबार) फिल्ममा समावेश ‘बा आमा’ बोलको गीत सार्वजनिक गरेको छ ।
अशोक दर्जी र एआर बुढाथोकी को स्वर रहेको गीतमा टंक बुढाथोकी को संगीत तथा एरेन्ज र शंकर आचार्य को शब्द रहेको छ ।
फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकसम्म हलमा देखिएका छन् । पहिलो दिनमा ९५ शो पाएको फिल्मले अहिले सवा सयको हाराहारीमा शो पाउन थालेको छ र हरेक शोमा दर्शकको उपस्थिति हाउसफुल रहेको बताइएको छ ।
अशोक दर्जी को वास्तविक जीवनको कथावस्तुमा आधारित यस फिल्मले दर्शकको मन जितेको देखिन्छ । दर्शकले दर्जीलाई अँगालो हालेर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल छन् ।
फिल्मका कलाकारहरू राजधानी र राजधानी बाहिर दर्शकको प्रतिक्रिया लिन हरेक दिन हल हलमा पुगेका छन् ।
टंक बुढाथोकी को निर्माण तथा निर्देशन रहेको यो फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको कथा बुढाथोकीले स्वयं लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारी ले लेखेका हुन् ।
News Filmy Newsportal / Nepal