काठमाडौं । निर्देशक मिलन चाम्स को निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक फिल्म ‘सुम्निमा’ मार्फत नेपाली फिल्म क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ । हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले मुख्य अभिनेत्री सोल गुरुङ लाई सार्वजनिक गरेको हो ।
लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस फिल्ममार्फत डेब्यु गर्दै छिन् । यसअघि उनले केही म्युजिक भिडियोमा मोडलिङ्ग गरेकी थिइन् ।
गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने यो फिल्म शुद्ध प्रेम कथामा आधारित हुने निर्देशक चाम्सले बताएका छन् । उनले फिल्म युनिभर्सल कथामा आधारित रहने र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी निर्माण गरिने जानकारी दिए ।
फिल्ममा सोल गुरुङसँगै कुन्साङ बमजन, अनुप विक्रम शाही, धिरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु लगायत प्रमुख भूमिकामा देखिनेछन् । राजीव थापा को लेखनमा तयार भइरहेको ‘सुम्निमा’ को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ ।
‘विर विक्रम’, ‘लिली बिली’, र ‘अञ्जिला’ जस्ता सफल फिल्म निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरको रूपमा स्थापित गरिसकेका मिलन चाम्सको पछिल्लो फिल्म ‘अञ्जिला’ ले ब्लकबस्टर व्यापार गरेको थियो ।
News Filmy Newsportal / Nepal