काठमाडौं । आगामी मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ । जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटल ले सो अधिकार खरिद गरेको हो ।
निर्देशक शोभित बस्नेत ले जापानका लागि फिल्म राम्रो रकममा बिक्री भइसकेको जानकारी दिएका छन् । उनले अन्य देशका वितरकहरूसँग पनि छलफल भइरहेको र छिट्टै थप जानकारी दिने बताए ।
निर्देशक बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले विदेशमा रहेका नेपाली दर्शकमाझ चासो उच्च देखिएको हो । फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ ।
हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ सामाजिक सञ्जालमा लोकप्रिय भइरहेको छ । यो गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ ।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी रहेको यस फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका छन् । फिल्मको वितरणको जिम्मा आर.आर. फिल्म्स ले लिएको छ ।
News Filmy Newsportal / Nepal