‘जारी २’ को प्रिमियरमा सकारात्मक प्रतिक्रिया : ‘माओवादी जनयुद्धको कालखण्डमा संस्कृति कसरी जोगियो?’

 

काठमाडौं। यस वर्षको बहुप्रतिक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आउनुको एक दिनअघि (बिहीबार) कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरियो ।

कवि उपेन्द्र सुब्बा को निर्देशनमा निर्माण भएको फिल्मको प्रिमियरमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो।

प्रिमियर शोमा पुगेका अधिकांश दर्शकहरूले लिम्बू संस्कृतिमा आधारित यो फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनीहरूका अनुसार, फिल्मले माओवादी जनयुद्ध कालखण्डमा कसरी धर्म र संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई भावनात्मक र सुन्दर ढंगले प्रस्तुत गरेको छ ।

अभिनेत्री मिरुना मगर को लिम्बू संस्कृति झल्किने पहिरनले प्रिमियरमा सबैको ध्यान खिचेको थियो ।

फिल्म हेर्न पुगेकी विघटित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर ले मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, “मैले जारीको पहिलो भाग पनि हेरेकी थिएँ । आज दोस्रो भाग हेर्दा निकै खुशी लाग्यो । यो सिनेमाले राम्रो सन्देश दिएको छ र फरक कालखण्डको सेटअपमा यसलाई सुन्दर ढंगले पस्किएको छ ।”

आज (शुक्रबार) बाट विश्वव्यापी प्रदर्शनमा आएको यो फिल्मले नेपालमा उच्च शोसहित आक्रामक व्यापार गर्ने देखिएको छ । विशेषगरी पूूर्वी नेपालका हलहरूमा फिल्मको व्यापार आक्रामक देखिएको छ ।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित यस फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ ले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बराल को प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय छ।

Leave a Reply