बालमनोविज्ञानमा आधारित फिल्म ‘रोल नं. १’ का लागि बाल कलाकारको अडिसन आह्वान

काठमाडौं । बालमनोविज्ञानमा आधारित नेपाली कथानक फिल्म ‘रोल नं. १’ का लागि निर्माणपक्षले बाल कलाकारहरूको अडिसन आह्वान गरेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्मका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ।

फिल्ममा विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताको प्रभाव वरिपरि कथा केन्द्रित रहेको संकेत गरिएको छ ।

अडिसनको प्रक्रिया

निर्माणपक्षका अनुसार ७ देखि ८ वर्षका ३ जना केटा, ६ देखि ७ वर्षकी १ जना केटी र ११ देखि १२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन् । इच्छुक बालबालिकाले एउटा सानो भिडियो क्लिप तयार गरी audition4rollno1@gmail.com वा WhatsApp नम्बर ९८६५११९३११ मा पठाउन सक्नेछन् ।

प्राप्त भिडियोहरूबाट शोर्टलिस्ट भएका बालबालिकाहरूलाई फाइनल अडिसनका लागि सम्पर्क गरिने निर्माणपक्षले जनाएको छ ।

निर्माण र टिम

गत वर्ष नै घोषणा गरिएको यो फिल्मको फर्स्टलुक पोस्टरमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको बालकको दृश्य देखाइएको थियो, जसले फिल्मको विषय बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट पारेको थियो ।

फिल्ममा जोन योञ्जन को कथा तथा निर्देशन, महेश दवाडी को पटकथा र संवाद, र प्रशान्त शिवाकोटी को संगीत रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको अर्को फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ प्रदर्शनको तयारीमा छ ।

Leave a Reply