काठमाडौं । यही शुक्रबार, कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘मन बिनाको धन’ लाई केन्द्रीय चलचित्र जाँच समितिले ‘युनिभर्सल’ (U) सर्टिफिकेट दिएको छ ।
सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो फिल्म सबै उमेर समूहका दर्शकहरूले सजिलै हेर्न पाउनेछन् । सेन्सरका क्रममा अधिकांश कर्मचारीहरूले अशोक दर्जीको विषयवस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ राम्रो बनेको भन्दै खुलेरै तारिफ गरेका थिए ।
निर्देशक टंक बुढाथोकी ले ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफूलाई ठूलो हौसला मिलेको र दर्शकले फिल्मलाई पनि मन पराउने विश्वास व्यक्त गरे । फिल्मको ट्रेलरलाई युट्युबमा १० लाख बढी पटक हेरिसकिएको छ ।
सामाजिक कथावस्तुमा केन्द्रित
यो फिल्म गायक अशोक दर्जी को जीवनमा आएको परिवर्तनको कथामा केन्द्रित छ । बाटोमा गीत गाउँदै हिँड्ने अशोकलाई टंक बुढाथोकीले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत कसरी उनको जीवन नै परिवर्तन गरिदिए भन्ने सामाजिक विषयवस्तुमा फिल्म प्रस्तुत गरिएको छ । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको यो फिल्मको कथा बुढाथोकीले स्वयं लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारी ले लेखेका हुन् । फिल्मको निर्माण विष्णुमाया मैनाली ले गरेकी हुन् ।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामा को छायांकन, कविराज गहतराज र रामजी लामिछाने को कोरियोग्राफी तथा मित्र डी. गुरुङ को सम्पादन रहेको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले वितरण गर्दैछन् ।
News Filmy Newsportal / Nepal