आजबाट देशभर ‘परान’ प्रदर्शनमा, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौँ। वरिष्ठ अभिनेता नीर शाहको केन्द्रीय भूमिका रहेको भावनात्मक पारिवारिक कथानक फिल्म ‘परान’ आज (कार्तिक १४ गते) बाट देशभरका सिनेमा हलहरूमा रिलिज भएको छ। उत्साहजनक शो संख्याका साथ प्रदर्शनमा आएको यस फिल्मले पारिवारिक दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बिहीबार राती काठमाडौंमा आयोजित ‘ग्राण्ड प्रिमियर’मा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ। फिल्म हेरिसकेपछि धेरै दर्शक भावुक देखिएका थिए। उनीहरूले विशेषगरी आफ्नो परिवारका सदस्यलाई धेरै ‘बारम्बार सम्झनामा ल्यायो’ भन्दै प्रतिक्रिया दिएका थिए।

वरिष्ठ अभिनेता हरिवंश आचार्यले निर्देशक दीपक आचार्यको डेब्यु फिल्म उत्कृष्ट रहेको भन्दै ‘परान’ले देखाएको कथा हरेक गाउँको समस्या भएको बताए। उनले ‘परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महसुस गर्न सक्ने भएकाले सबैलाई फिल्म हेर्न आग्रह गरे।

यस्तै, अहिले प्रदर्शनरत ‘जेरी अनटप’का निर्देशक सुयोग गुरुङले ‘परान’ छुटाउनै नहुने फिल्म बनेको प्रतिक्रिया दिए। उनले फिल्म हेरिरहँदा आँखा झिमिक्क नहुने र कतिखेर आँसु आउँछन् थाहा नहुने भन्दै आफ्नो पनि आँसु खसेको अनुभव सुनाएका थिए। अन्य सेलिब्रेटीले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए। प्रिमियरमा उपस्थित अधिकांशले फिल्मका निर्माताद्वय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना व्यक्त गरे।

फिल्मले आफ्नो उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जसले आफ्ना सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन्। यसै अन्तरद्वन्द्वलाई फिल्मले भावनात्मक रूपमा चित्रण गरेको छ।

फिल्ममा नीर शाहका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।

फिल्मका गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको संगीत रहेको छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन्। शिवराम श्रेष्ठले छायांकन (डिओपी) गरेको फिल्मलाई मित्र डी. गुरुङले सम्पादन गरेका हुन्। कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। अजय उपाध्याय कार्यकारी निर्माता रहेको यस फिल्मका प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी र समर चौलागाईं रहेका छन्।