‘होस्टेल ३’ भारतमा पनि ५१ दिन मनाउन सफल

काठमाडौं। नेपालमा लगातार ५१ दिन प्रदर्शनको ऐतिहासिक सफलता मनाएको फिल्म ‘होस्टेल’ फ्रेन्चाइज को तेस्रो भाग ‘होस्टेल ३’ ले भारतमा पनि सोही सफलता दोहोर्‍याएको छ । यसले गर्दा भारतीय नेपाली समुदायबिच नेपाली फिल्मको लोकप्रियता विस्तार भएको छ ।

भारतका वितरक सुरज खड्का ले दिएको जानकारी अनुसार, सेप्टेम्बर ५ देखि दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको यो फिल्मले त्यहाँ पनि ५१ दिन पूरा गरेको छ ।

भारतमा ‘होस्टेल ३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमा ले गरेका हुन् । फिल्म सिक्किम, दार्जिलिङ, सिलगुडीसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।

निर्देशक सशान कँडेल ले ठूलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिने दुर्गिश फिल्म्ससहित निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई आभार व्यक्त गरे ।

‘होस्टेल ३’ ले क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ ।

फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

बक्स अफिसमा सफल व्यापारसँगै ‘होस्टेल ३’ हाल नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा पनि स्ट्रिमिङ भइरहेको छ । दर्शकहरूले गुगल प्ले स्टोर, एप स्टोरसहित विभिन्न स्मार्ट टिभीका माध्यमबाट यो फिल्म हेर्न सक्नेछन् ।