काठमाडौं । कात्तिक ६ गते भाइटीकाका दिनबाट प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा सफल प्रदर्शन गरिरहेको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार फिल्मले पाँच दिनको अवधिमा २ करोड रुपैयाँ ग्रस कलेक्शन गरेको छ ।
हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला निर्माण टिमले आज फिल्मको नयाँ वियोगान्त गीत ‘मायाले रुवायो’ सार्वजनिक गरेको छ ।
गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठ को स्वर छ । शब्द र संगीत प्रशान्त शिवाकोटीकै रहेको छ । वियोगान्त गीतमा प्रेम जोडीबीच एकाकार हुन नसक्दा भएको पीडालाई मर्मस्पर्शी शब्दसहित चित्रण गरिएको छ ।
सार्वजनिक भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि अर्याल को वियोगको अभिनय देखाइएको छ । यसअघि फिल्मको गीत ‘न्यौली बनैमा’ ले युट्युबमा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ ।
सुरेन्द्र पौडेल निर्देशित यो फिल्ममा दयाहाङ राई र विजय बराल को टकराब मुख्य आकर्षण हो । फिल्ममा उनीहरूसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय छ ।
मनकृष्ण महर्जनको छायांकन रहेको यस फिल्मको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । फिल्मलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेको छ ।
News Filmy Newsportal / Nepal