काठमाडौं। आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मन बिनाको धन’ को ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
फिल्मको ट्रेलरमा मुख्य कलाकार अशोक दर्जी को सडक बालकदेखि सांगीतिक सफलतासम्मको भावनात्मक कथा देखाइएको छ । वर्तमान समाजमा ‘मन’ र ‘धन’ बीचको टकराव र अशोक दर्जीले कसरी जिरोबाट हिरो को यात्रा तय गरे भन्ने विषयलाई सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ ।
बाटोमा गीत गाउँदै हिँड्ने अशोक दर्जीलाई निर्देशक टंक बुढाथोकी ले ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत उनको जीवन परिवर्तन गरिदिएका थिए । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
अशोकको जीवनको पेरिफेरीमा रहेर निर्माण गरिएको यो फिल्म सामाजिक विषयवस्तुमा केन्द्रित छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको ‘मन बिनाको धन’ को कथा बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारी ले लेखेका हुन् । फिल्मको निर्माण विष्णुमाया मैनाली ले गरेकी हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा छिन् ।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्ममा टंक बुढाथोकीको संगीत, सौरभ लामा को छायांकन, कविराज गहतराज र रामजी लामिछाने को कोरियोग्राफी तथा मित्र डी. गुरुङ को सम्पादन रहेको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनी ले वितरण गर्दैछन् ।
News Filmy Newsportal / Nepal