काठमाडौं । अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति माघ १ गते लाई तोकेको छ ।
पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ रोमान्टिक भावमा फिचर्ड छन् । पोस्टरमा ‘बतासले उडाई लग्यो माया मेरो’ भन्ने वाक्यांश उल्लेख छ, जसले उनीहरूबीचको प्रेमलाई दर्शाउँछ । सोही बोलको गीत आज सार्वजनिक हुने तयारी छ ।
पोस्टरमा प्रयोग गरिएका लाइक, लभ रियाक्ट र मोबाइल फ्रेमले फिल्मको मुख्य विषयवस्तु— सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्ति —लाई संकेत गर्छ । सौगात र सृष्टिलाई टिकटक वा रिल्स बनाइरहेको जस्तो देखाइएको छ ।
‘भाइरल गोर्खे’ टिकटक, फेसबुक र युट्युबमा जसरि पनि भाइरल हुने पछिल्लो ट्रेन्डलाई मुख्य कथा बनाएर बनेको फिल्म हो । निर्देशक निगम श्रेष्ठ ले यो समसामयिक र जल्दोबल्दो विषयमा बनेको फिल्म भएकाले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन् । उनले फिल्म कमेडी र ह्युमरको पूर्ण प्याकेज भएको पनि उल्लेख गरे ।
‘भाइरल गोर्खे’ मार्फत निगमले नेपालमा विकृतिको रूपमा मौलाउँदै गरेको भाइरल प्रवृत्तिलाई व्यंग्य गर्नेछन् । फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमला को अभिनय रहेको छ ।
एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको यस फिल्मका निर्माताहरूमा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर छन्।
अमर महर्जन को सिनेमाटोग्राफी रहेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो । ‘भाइरल गोर्खे’को वितरण सुनिल मानन्धर ले गर्नेछन् ।
News Filmy Newsportal / Nepal