शोभित बस्नेत निर्देशित ‘पीआर’ मंसिर २६ मा रिलिज हुने

काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण टिमले काग तिहारको अवसर पारेर मंसिर २६ गतेबाट फिल्म प्रदर्शन गर्ने मिति तोकेको छ ।

सलोन सलिना फिल्म्स को ब्यानरमा बनेको यो फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ । निर्माण पक्षका अनुसार ‘पीआर’ ले विदेश जाने नेपाली युवाहरूको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ ।

फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी लगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारी ले गरेका छन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका छन् ।

निर्देशक बस्नेतले ‘पीआर’ मा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्ने बताउँदै यसलाई “नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष” का रूपमा दर्शकसामु ल्याइएको बताए ।

फिल्ममा सौरभ मानन्धर र सौरभ लामा ले छायांकन गरेका छन् । यसमा बन्दे प्रसाद को सम्पादन, गणेश बुद्धाथोकी को लेखन, रामजी लामिछाने को नृत्य निर्देशन तथा मानस राज र भिम बि सी को संगीत रहेको छ । फिल्मको वितरणको जिम्मा आर आर फिल्मस् ले लिएको छ ।