‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । केही दिनअघि टाइटल पोस्टर सार्वजनिक गरिएको यो फिल्म अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेसँगै चर्चामा आएको छ ।

नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको यो फिल्म हिन्दी र नेपाली दुवै भाषामा बन्नेछ भने साङ्गीतिक पक्ष पनि दुवै भाषामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोज को संयुक्त ब्यानरमा यो फिल्म निर्माण हुँदैछ । हाल फिल्म प्रि-प्रोडक्सनको चरणमा रहेको छ र २०२६ मा प्रदर्शन गर्ने तयारी गरिएको छ ।

फिल्मको लेखन तथा निर्देशन किङ योगी ले गर्ने भएका छन् ।

अक्स इन्टरनेशनल स्टुडियोजका अनुसार, भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली यस प्रोजेक्टमा संलग्न हुनेछन् । यसअघि ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूहहरू संलग्न हुने भएकाले फिल्मको प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ ।

प्रि-प्रोडक्सनसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया पनि अगाडि बढिरहेको छ । कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म २०२५ को अन्त्यतिर फ्लोरमा जाने तयारीमा छ ।

सार्वजनिक गरिएको थिम क्यारेक्टर पोस्टरले फिल्ममा रोमान्स र एक्सन को अनौठो मिश्रण रहने संकेत दिएको छ । निर्माण पक्षका अनुसार, ‘मोना लिसा (ब्लडी लभ)’ ले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिति सिर्जना हुन्छ भन्ने विषय प्रस्तुत गर्नेछ । यस फिल्ममार्फत नेपाली फिल्म उद्योगले अन्तर्राष्ट्रियस्तरमा नयाँ सम्भावना देखाउने अपेक्षा गरिएको छ ।

Leave a Reply