फिल्म ‘एक्लो’ को पहिलो गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक

काठमाडौं । प्रदीप शाहीको निर्देशनमा बनेको वैज्ञानिक कथामा आधारित फिल्म ‘एक्लो’ को पहिलो प्रोमोशनल गीत ‘एक्लै बाच्नु खुरुखुरु’ सार्वजनिक भएको छ।

 

गीतमा शान्तीश्री परियार को स्वर रहेको छ भने शब्द सपनील शर्मा र संगीत रोहित शाक्य को रहेको छ।

 

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री कविता नेपाली को आकर्षक नृत्य देख्न सकिन्छ । काठमाडौंमा भब्य सेट लगाएर छायांकन गरिएको उक्त भिडियोको कोरियोग्राफी कविता नेपालीले नै गरेकी हुन् ।

 

नेपाली चलचित्र क्षेत्रका लागि दुर्लभ मानिने यस वैज्ञानिक कथामा आधारित फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन् ।

 

फिल्मको पोस्ट-प्रोडक्सन कार्य हाल लन्डनमा भइरहेको छ । निर्माण टिमले आगामी पुसमा क्रिसमस को अवसर पारेर फिल्म रिलिज गर्ने तयारी गरेको छ ।लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका निर्देशक शाहीले ‘एक्लो’ लाई हलिउडस्तरको प्रविधि र प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिरहेका छन् ।

 

‘एक्लो’ ले यसअघि प्रतिष्ठित कान्स फिल्म फेस्टिभल को बजार क्षेत्र (Market) मा समेत आफ्नो उपस्थिति जनाइसकेको छ ।यसअघि सार्वजनिक टिजरमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, बेनिशा हमाल र बेलायती अभिनेता जेमी बेकन लगायतका कलाकारहरू देखिएका थिए ।

 

फिल्मका मुख्य कलाकारहरूमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली लगायत छन् ।

 

फिल्ममा बाबु श्रेष्ठ को छायांकन, राजु तामाङ को द्वन्द्व निर्देशन, राजु पेन्टर को सेट डिजाइन र द्रोणप्रसाद पौडेल ‘ठेउके’ को प्रोडक्सन डिजाइन रहेको छ । विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको यस फिल्ममा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ लगायत थुप्रै निर्माताको लगानी रहेको छ ।

Leave a Reply