काठमाडौं। विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । यो फिल्म तिहारको भाइटीका अर्थात् कार्तिक ७ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
तीन मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा प्रेम सम्बन्धलाई सफल बनाउन गरिएको संघर्ष र त्यसबाट उत्पन्न हुने सामाजिक तथा व्यक्तिगत समस्याहरूलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा अभिनेता दयाहाङ राई, मुख्य कलाकार धिरज मगर र मिरुना मगर सँगै दिया पुन र निर्देशक विल्सन बिक्रम राई स्वयं पनि अभिनयमा देखिएका छन् ।
निर्माण टिमले ट्रेलर रिलिज गर्नुअघि नै फिल्मका दुई गीत सार्वजनिक गरिसकेको छ । तीमध्ये एक प्रेम गीत र अर्को पूर्वी नेपालमा प्रचलित साकेला नाचमा आधारित गीत रहेको छ । यी गीतहरूले फिल्मको पब्लिसिटीमा राम्रो ‘हाइप’ (चर्चा) सिर्जना गरेका छन् ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म पूर्वी नेपालको इलाम र पाँचथर आसपासका क्षेत्रमा छायांकन गरिएको हो ।
फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुनका साथमा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ ।
फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् भने गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर रहेको छ ।
सौरभ लामाले छायांकन गरेको फिल्मको वितरणको जिम्मा आरआर फिल्मस् ले लिएको छ । फिल्मको डिजिटल अधिकार भने ओएसआर सँग रहेको छ ।