काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छन् ।
‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक लोकप्रिय बनेको छ । सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर रहेको छ ।
गीतमा विजय बराल र समृद्धि अर्याल युगल जोडीको भूमिकामा छन् । विजय बरालको अभिनय र नृत्य कौशलको दर्शकले प्रशंसा गरेका छन्, जसले चलचित्रको प्रचारमा महत्त्वपूर्ण सहयोग पुर्याएको छ ।
गीतको सफलतासँगै चलचित्रको ट्रेलरले पनि दर्शकको मन जितेको छ । चार दिनअघि सार्वजनिक ट्रेलरले १३ लाख ९६ हजारभन्दा माथि भ्युज पाएको छ ।
ट्रेलरमा अभिनेता दयाहाङ राई र विजय बरालको टकराबलाई दर्शकले बढी रुचाएको पाइएको छ । युट्युबमा ट्रेलर हेर्ने दर्शकहरूले दयाहाङको फरक गेटअप र दुवै कलाकारको अभिनयको तारिफ गरेका छन् ।
आफ्नो अधिपत्य स्थापित गर्ने प्रयासमा दयाहाङ र विजयबीचको द्वन्द्वलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
गीत र ट्रेलरले बटुलेको यो लोकप्रियताका आधारमा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
सुरेन्द्र पौडेल को निर्देशनमा बनेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको यो चलचित्रमा निर्देशक पौडेलकै कथा र सम्पादन रहेको छ भने पटकथा महेश दवाडीले लेखेका हुन् ।
आशिष एच तामाङ र श्रीराज कार्की निर्माता तथा प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन र प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।