फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब कार्तिक २१ गते रिलिज हुने

काठमाडौं। देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै फिल्म ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति पुनः परिवर्तन गरिएको छ । यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको फिल्म अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको हो ।

फिल्मका निर्माता विनोद पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ प्रदर्शन मितिको जानकारी दिँदै दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा फिल्म प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको बताएका छन् । उनले प्रतिकूल परिस्थितिमा पनि दर्शकको साथ र सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

‘अभिमन्यु : च्याप्टर १’ नेपाली मात्र नभई हिन्दी भाषामा समेत नेपाल, भारत र विश्वका विभिन्न देशहरूमा एकसाथ प्रदर्शन हुने भएको छ । यसले फिल्मलाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउने विश्वास निर्माण टिमले व्यक्त गरेको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

फिल्मको निर्देशन सुशान्त गौतमले गरेका हुन् भने क्रिएटिभ निर्देशकका रूपमा मदन थापा छन् । लेखन मुकेश खनालले गरेका छन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

फिल्मको डिओपी शरद महतो, भिएफएक्स मनोज श्रेष्ठ, रंग संयोजन जुनिम गहतराज र सम्पादन मदन घिमिरेले गरेका छन् ।

Leave a Reply