फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

काठमाडौं। आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदले लेखेका हुन्।

भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीबीच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर सुनिल क्षेत्री र फिल्मका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले फिल्ममा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।

यसअघि, फिल्म ‘बलिदान’लाई केन्द्रीय फिल्म जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (PG) प्रमाणपत्र प्रदान गरिसकेको छ। सन्तोष सेन निर्देशित फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ।

निर्मातापक्षका अनुसार फिल्मले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ। अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। दसैँको अवसर पारेर रिलिज हुन लागेको यस फिल्मलाई पारिवारिक मनोरञ्जनको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply