फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी  भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर आज सार्वजनिक गरिएको छ।

ट्रेलरले फिल्मको कथा प्रष्ट्याएको छ। प्रेमको नाटक, अपहरण र फिरौतीको वरिपरि कथा घुमेको देखिन्छ। प्रेमीको नाटक गरेर उसैलाई अपहरण गर्ने र उसकै बुबासँग फिरौती रकम माग्ने युवकको कथा यसमा प्रस्तुत गरिएको छ।

घरबारविहीन एक युवकले पैसाका लागि गरेका हदसम्मका कामलाई देखाइएको छ। पैसा कमाउने लोभमा दुई नम्बरी धन्दा होस् वा मेहनतको कमाइ, सबैको नजर त्यतातिरै लाग्ने मनोविज्ञानलाई पनि ट्रेलरले समेटेको छ।

फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाललगायत कलाकारको अभिनय रहेको छ।

फिल्म ‘अभिमन्यु’ भदौ २७ गते रिलिज हुँदैछ। यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने निर्माणपक्षले जनाएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। मुकेश खनालले लेखन गरेका यस फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक हुन्।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ हुन्।

फिल्ममा जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदन घिमिरे सम्पादक र शरद महतो छायाकार रहेका छन्।

Leave a Reply