किरण नेपालीको निर्देशनमा ‘महादशा’ बन्ने

काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको हो।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा संलग्न रहिसकेका छन्।

सार्वजनिक गरिएको प्रि–टिजरमा प्रमुख कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षले अन्य कलाकारको विवरण पछि सार्वजनिक गर्ने जनाएको छ।

मनिष गौतमद्वारा लेखिएको कथामा आधारित यस फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईको लगानी रहनेछ। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् भने अनिश अधिकारी र समर चौलागाई प्रोडक्सन म्यानेजरको जिम्मेवारीमा रहनेछन्।

निर्माण पक्षका अनुसार फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्नेछ। फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र घोषणा गरिने बताइएको छ।

Leave a Reply