‘गुन्यु चोलो : द ड्रेस’ ले ट्रान्स समुदायको कथा बोलेको छ: निर्देशक भट्ट

काठमाडौं । नेपाली समाज अन्तरमुखी स्वभावको भएकोले धेरैले आफ्नो पहिचान दबाएर जीवन यापन गर्छन्। महिला मात्र नभई तेस्रोलिंगी समुदायका सदस्यहरूले पनि आफ्नो असली पहिचान दबाएर जीवन बिताउँछन्।

यसै सन्दर्भमा, फिल्म ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलरले पारालैंगिक पात्रको जीवन झल्काएको छ। ट्रेलरमा देखिन्छ कि छोरोको नेचर महिलाको छ, तर परिवार, साथी र छिमेकले उसलाई हेय भावले हेरिरहेका छन्।

निर्देशक समुद्र भट्टले बताइन्, “हामीले अपेक्षासहित फिल्म बनाएका थियौँ। ट्रेलरको सकारात्मक प्रतिक्रियाले सफलताको संकेत दिएको छ।” “ट्रेलरजस्तै प्रतिक्रिया र माया चलचित्रबाट पायौँ भने हामी सफल हुनेछौँ । र, हामी सफलताको नजिक रहेको ट्रेलरले देखाएको छ ।”

नेपालमा दबिएर बसेको र आफ्नो आवाज बाहिर ल्याउन नसकेको समुदायको बोली आफ्नो टिमले चलचित्र ‘गुन्यु चोलो द ड्रेस’मार्फत् बोलेको उनले बताइन् ।

फिल्मका मुख्य अभिनेता नाजिर हुसेनले ट्रेलर र गीतले दर्शकको अपेक्षा पुरा गर्दै गएको बताए। नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निभाएका छन्।

फिल्ममा नाजिर हुसेन ,  सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी पनि महत्वपूर्ण भूमिकामा छन्।

नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ। सम्पूर्ण पोस्ट–प्रोडक्सन, एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिक हलिउडमा सम्पन्न भएको छ।

हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने मार्सेलो दी फ्रान्सिसीले सम्पूर्ण ब्याकग्राउन्ड म्युजिक तयार पारेका छन्।

यो फिल्म नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। आकाश बुढाथोकी र भि–भन्से जानुबोनले लगानी गरेका छन्। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन, सहयोगी निर्माता अनुपम श्रेष्ठ हुन्।

लेखक सहयात्रीको गीत रचना रहेको यो फिल्म अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो।

Leave a Reply