काठमाडौं। साउनको पहिलो हप्तादेखि इलामबाट सुरु भएको फिल्म ‘मैझारो’को छायांकन अन्तिम चरणमा पुगेको छ। लोकप्रिय हाँस्य अभिनेता वील्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा निर्माणाधीन यो फिल्म पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको संवेदनशील पक्षलाई कथामा पस्किने उद्देश्यसहित तयार हुँदैछ।
फिल्मको छायांकन देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका सुन्दर स्थलमा गरिएको छ। कथा र पटकथा स्वयं निर्देशक राईले लेखेका हुन्। मौलिक प्रेमकथामा आधारित यसमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बन्ने फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत छ भने राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीलगायतको स्वर रहनेछ। सौरभ लामाले छायांकन गरेको यो फिल्म आरआर फिल्ममार्फत वितरण हुनेछ भने यसको डिजिटल अधिकार ओएसआरले लिएको छ।