काठमाडौं। आगामी भदौ १२ गते देखी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कोशेढुंगा’को निर्माण टिमले प्रचारलाई तीव्र बनाउँदै कविता र तीन पोस्टर सार्वजनिक गरेको छ। प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्प समेटिएको कविता मुख्य अभिनेत्री सुरक्षा पन्तले वाचन गरेकी हुन्। लिरिकल भिडियोमा फिल्मका केही फुटेज र स्टिल फोटोसमेत समावेश छन्, जसले कथाको आंशिक संकेत गर्छ।
निर्माण पक्षले सार्वजनिक गरेको तीन पोस्टरमा मुख्य कलाकारहरू फिचर्ड छन्। पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले छन्। दोस्रोमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी देखिएका छन् भने तेस्रोमा सुरक्षा पन्त र मन्जिल कुमार छन्, जहाँ सुरक्षाले भारी बोकेको देखिन्छ।
यसअघि ‘कोशेढुंगा’को प्रेमिल गीत ‘भंगेरा भगेरी’ र टिकटकमा चर्चित ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भइसकेका छन्।
सरोज पौडेल निर्देशित यो फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले र लोकमणि सापकोटालगायतको अभिनय छ। निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का हुन्।
नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ रिलिज हुने ‘कोशेढुंगा’लाई अन्तर्राष्ट्रिय बजारमा प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ। यो संख्यामा पहिलो पटक नेपाली फिल्म एकैपटक यति धेरै देशमा प्रदर्शन हुने भएकोले यसले नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।