काठमाडौं। श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म रियाल रिङ्गेट को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र घर–परिवारप्रतिको सम्झनालाई यस गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।
रामचन्द्र काफ्लेले गाएको यस गीतमा शब्द अमर न्यौपानेको रहेको छ। सङ्गीत काफ्लेकै हो भने एरेञ्ज तथा मिक्सिङ–मास्टरिङ किरण तुलाधरले गरेका छन्।
फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का लगायतका कलाकारको अभिनय छ। कथा प्रदीप भारद्वाजको हो। छायाङ्कन भारतको राजस्थान र नेपालका चितवन, काठमाडौं तथा लेटाङमा गरिएको हो।
‘रियाल’ (कतार, साउदी) र ‘रिङ्गेट’ (मलेसिया) नाम संयोजनले ती मुलुकमा रहेका लाखौँ नेपाली श्रमिकको वास्तविकता प्रतिविम्बित गर्न खोजिएको निर्माण पक्षको भनाइ छ।