वरिष्ठ बलराम र कुस्तीको छायांकन सम्पन्न, पहाडको यूनिट काठमाण्डौँ फिर्ता

काठमाडौँ – महिना दिनअघि फ्लोरमा गएका दुई फिल्म  ‘वरिष्ठ बलराम’ र ‘कुस्ती’ को छायांकन कार्य सम्पन्न भएको छ । 

हिजै मात्र दयाहाङ र विजय बराल शिर्ष भूमिकामा रहेको फिल्म बरिष्ठ बलराम तथा धीरज मगर र मिरुना मगरको मुख्य भूमिकामा रहेको फिल्म कुस्तीको छायाँकन सकिएको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुँदै गरेको बरिष्ठ बलरामको छायाँकन ३६ दिनमा सकिएको हो भने कुस्तीको चाँहि गीतको सुटिङ बाँकी राखेर ३९औँ दिनका दिन ईन्ड क्ल्याप गरिएको निर्देशक अनिल योञ्जनले जानकारी दिएका छन । 

यसैगरी गोरखामा पहिलो सेड्यूलमा ४३ दिन सम्म छायाँकन गरेर तुलसी घिमिरेको फिल्म पहाडको यूनिट पनि काठमाण्डौँ फर्किएको छ । घिमिरेको फिल्मको दोश्रो सेड्यूल मुम्बई र तेश्रो सेड्यूल काठमाण्डौँमा हुन अझै बाँकी छ । आफ्नी कान्छी  छोरी पञ्चमीलाई डेब्यू गराउँदै फिल्म निर्माणमा पुनः सक्रिय भएका घिमिरेको पहाडमा विपिन कार्की, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, आशा पौडेल, सलोना बज्रचार्य लगायतका कलाकारहरुले अभिनय गरेका छन ।

यता बरिष्ठ बलराममा समृद्धी अर्याल, गौमाया गुरुङ, पशुपति राई लगायतका महिला कलाकार छन भने कुस्तीमा मिरुना बाहेक लुनिभा तुलाधर,  दीकिला शेर्पा, रजनी गुरुङ सहित चिरपरिचित अन्य थुप्रै कलाकारहरु छन ।  बरिष्ठ बलराम आउँदो बर्षको लक्ष्मी पूजा कार्तिक ३ गते देखि प्रर्दशनमा आउँने छ भने कुस्तीलाई भदौँ महिनाको कुनै उपयुक्त डेटमा रिलिज गर्ने लक्ष्य लिईएको छ ।