ट्रायल शो हेरेपछि पिताम्बरलाई हल सञ्चालक मैनालीद्वारा ४.५ स्टार रेटिङ : तर कर्मालाई बायस हुँदैन र ?

काठमाडौँ — काठमाडौँको दरबारमार्गस्थित क्यू.एफ.एक्स राइजिङ मल र समाखुशी स्थित क्यू.एफ.एक्स सिटिस्क्वायरका सञ्चालक  सुमित मैनालीले नेपाली फिल्म पिताम्बर को ट्रायल शो हेरेपछि सामाजिक सञ्जालमार्फत फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

सोमबार दिउँसो सिटिस्क्वायर मलमा आयोजित ट्रायल शोमा सहभागी भएका मैनालीले फिल्मका केही दृश्यहरु फेसबुकमा पोस्ट गर्दै फिल्मको निकै खुलेर प्रशंसा गरेका हुन्। एक्सन जनराका फिल्मप्रेमी दर्शकहरूका लागि पिताम्बर ‘छुटाउनै नहुने’ खालको रहेको उल्लेख गर्दै उनले फिल्मलाई ५ मध्ये ४.५ स्टार रेटिङ समेत दिएका छन्।

फेसबुकमा उनले लेखेका छन्, पिताम्बर एक दमदार एक्सन चलचित्र हो, जसमा प्रदीप खड्का लगायत सम्पूर्ण कलाकारको अभिनय निकै उत्कृष्ट छ। चलचित्र सुरुदेखि अन्त्यसम्म नै दर्शकलाई बाँधेर राख्न सक्षम छ। नेपाली एक्सन फिल्म मन पराउने दर्शकहरूका लागि यो चलचित्र अवश्य हेर्न लायक छ।”

पिताम्बर बहुप्रतिक्षित नेपाली मल्टीस्टारर फिल्म हो, जसको निर्देशन कृषा चौलागाईंले गरेकी हुन्। फिल्ममा प्रदीप खड्का सहित सौगात मल्ल, दयाहाङ राईहरूको दमदार अभिनय, एक्सन, संवाद र प्रस्तुति देखिएको छ। फिल्मले एक सातामै युट्युबमा सार्वजनिक ट्रेलरमार्फत २१ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। यतिखेर ट्रेलर युट्युबको मुभिज सेक्सनमा ट्रेन्डिङ नम्बर १ मा समेत उक्लिन सफल भएको छ। यो फिल्म आउँदो शुक्रबार, चैत्र २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

तर यो खुशीको खबर सँगै  एउटा पक्ष भने ध्यान दिन लायक छ। सुमित मैनाली हल सञ्चालक मात्र होइन, निर्माता पनि हुन्। हल सञ्चालकको भूमिकामा उनी नेपाली फिल्म उद्योगमा सबै निर्माता, निर्देशक र फिल्मसँग सम्बन्धित पक्षप्रति बराबरी व्यवहार गर्नुपर्ने जिम्मेवारीमा हुन्छन्। यस सन्दर्भमा पिताम्बर को ट्रायल शो उनकै हलमा आयोजना भएको थियो, जसले गर्दा उनले फिल्म हेर्ने अवसर पाए। फिल्म राम्रो लागेर उनले उत्साहपूर्वक सामाजिक सञ्जालमा स्टाटस लेख्नु स्वाभाविक हो। तर, त्यसै दिन पिताम्बर सँगै अर्को बहुप्रतिक्षित फिल्म कर्मा पनि प्रदर्शनमा आउँदैछ। यस्तो अवस्थामा मैनाली जस्तो व्यक्तिले सार्वजनिक रुपमा कुनै एक फिल्मको मात्र खुलेर प्रशंसा गर्दा अर्को फिल्मको निर्माण टिमलाई पूर्वाग्रही व्यवहार महसुस हुन सक्ने सम्भावना रहन्छ।

 

उद्योगभित्र हल सञ्चालकको भूमिका सबै फिल्महरूको सन्तुलित प्रचार र प्रसार सुनिश्चित गर्नु पनि हो। त्यसैले मैनालीको स्टाटस चाहिँ फिल्मप्रेमी दर्शकको हैसियतले सही भए पनि, हल सञ्चालकको भूमिकाबाट हेर्दा केही ‘बायस’ देखिएको आभास हुन सक्दछ। विशेषतः कर्मा जस्तो अर्को महत्वाकांक्षी फिल्म पनि सोही मितिमा प्रदर्शनमा आउँदै गर्दा उनले मध्यमार्गी दृष्टिकोण अवलम्बन गर्नु उपयुक्त हुनेथियो।

सारमा भन्नुपर्दा, पिताम्बर एक उत्कृष्ट एक्सन फिल्म बनेको देखिन्छ र त्यसप्रति मैनालीले व्यक्त गरेको उत्साह जायज छ। तर, सन्तुलित भूमिकामा रहेका व्यक्तिहरूले सार्वजनिक धारणा बनाउँदा सबै पक्षप्रति संवेदनशीलता अपनाउनु पनि उद्योगकै हितमा हुन्छ। त्यस्तो नहोस तर यहि कारण उल्लेख गर्दै कर्माका निर्माता र वितरकले क्यु.एफ.एक्स चेन अन्र्तगतका हलमा आफ्नो फिल्म प्रर्दशन नगर्ने अडान व्यक्त गरे भने कस्तो नतिजा आउँला ? सोच्नु पर्ने कुरा हैन र ?