काठमाण्डौँ । टिकटक हुँदै म्यूजिक भिडियो र म्यूजिक भिडियो हुँदै केही नेपाली फिल्महरुमा पनि देखिन थालेकी अभिनेत्री गरिमा शर्माले पहिलो पटक शीर्ष भूमिकामा खेलेको फिल्म जन्तेबाख्रोको गीतले निकै राम्रो प्रतिक्रिया पाउँन थालेको छ । बिहिवार दिउँसो सार्वजनिक गीतमा अपेक्षित भ्यूज नदेखिएपनि यसको प्रतिक्रिया भने निकै राम्रो देखिएको हो ।
“फिल्मका मुख्य अभिनेता सौगात मल्लसँगको रोमान्टिक गीतमा गरिमा खुलेर प्रस्तुत भएकी छिन्। पाँच मिनेट लामो यस गीतलाई अझ ग्लोरिफाइ गर्न फिल्म युनिटले गरिमा र सौगातको ६ पटकसम्म ड्रेस चेन्ज गराएको छ।”
जति पटक ड्रेस चेन्ज भयो त्यतिनै पटक फरक फरक क्यानभासमा गीत खिचेर फिल्मको दृश्यभाषालाई समेत टिमले स्ट्रोङ बनाउँन खोजेको देखिन्छ । गरिमालाई पिंक, ग्रिन,ह्वाईट, लगायतका ६ कलरको साडी पहिराउँदा सौगातलाई पनि प्रत्येक पटक ड्रेस चेन्ज गराएको छ जसले गर्दा कलाकारहरुको सुन्दरतालाई पहिरनले परिस्कृत गरिदएको छ । यस्तो सेटअप पहिले पहिलेका हिन्दी तथा नेपाली फिल्महरुमा ज्यादा गर्ने प्रचलन थियो जसले भिजुअल पक्षलाई सुन्दर बनाउँन थप मद्धत गर्ने गर्छ । सम्भवत सौगात मल्ललाई धेरै पछि यतिको ह्यान्डम देखिएको गीत यहि नै हो । गीतमा कलाकारहरुले लगाएको कष्ट्यूम चाँहि सुजन परियारले तयार गरेका हुन ।
बाबुल गिरीको शब्द, संगीत र एकल स्वर रहेको यो गीत पूर्ण रुपमा कर्णप्रिय छ । दीपचण्डी रिदममा तयार गरिएको यो रोमान्टिक नम्बरको गीतमा हुनु पर्ने सम्पूर्ण मापदण्ड पुरा गर्दै बनाईएको महसुश हुन्छ । अझ रोचक कुरा त के छ भने यो गीतलाई यसै फिल्मका डि.ओ.पी हरि हुमागाईले कोरियोग्राफ गरेका हुन । “खासमा हामीलाई एउटा राम्रो गीत चाहिएको थियो हरि जीले बाबुलसँग एउटा गीत छ भनेर सुन्ने वित्तकै हामीले लक गरेका हौँ ।” गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक सिमोश सुनुवारले बताएका छन । सुनुवारले आफूले विगतका फिल्महरुमा गरेका गल्तीहरुलाई सुधारेर यो फिल्म राम्रो बनाएको दावी समेत गरेका छन ।
आगमी जेठ ९ गते देखि प्रर्दशन आरम्भ गर्ने यस फिल्ममा लोकप्रिय सञ्चारकर्मी तथा कलाकार आशिफ शाह पनि मुख्य भूमिकामा छन । गीतको अन्त्यमा राखिएको पोष्ट सङ मोन्टजमा उनी पनि देखिन्छन जुन मोन्टाजले फिल्मको गीतको सुन्दरलाई थप मजबुत बनाउँदै फिल्म प्रति दर्शकको चासो बढाईदिने स्ट्रोङ हुकको काम गरेको छ । यसैगरी उक्त सिन पश्चात टाइटल अनविलिङका क्रममा चश्मा लगाएको एनिमेटेड बोकाको दृश्यले पनि फिल्म रमाइलो होला भन्ने संकेत देखाएको छ । हेर्नुस गीत