महाभोजको प्रेमपरक कौडा गीत : तर स्ट्रिप लाईटले आँखा खाएन र ?

अनुप भट्टराई

काठमाण्डौँ । यस बर्षको सुपरहिट फिल्म पुजार सार्कीका निर्देशक दिनेश राउतले बनाएको नयाँ फिल्म महाभोजमा समावेश कौडा गीत रिलिज भएको छ ।

युवायुवतीबीचको प्रेमभाव व्यक्त गर्ने प्रेमपरक कौडा गीतमा दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङले नृत्य गरेका छन । गीतमा आर्यन सिग्देल र सुरक्षा पन्त पनि देखिएका छन तर उनीहरु अतिथि बनेर नृत्यको मज्जा लिएको देखिन्छ ।

अघिल्लो फिल्म पुजार सार्कीमा पनि कौडा गीत समावेश गरेका निर्देशक राउतले यो कौडा गीतलाई रात्रिकालिन सिक्वेन्समा तयार गरेका छन । लोकदोहोरी तथा म्यूजिक भिडियोमा पोख्त रहेका नृत्य निर्देशक मौसम हिमालीको कोरियोग्राफीमा गीतको भिडियो तयार गरिएको हो । गीतको शब्द सुरेन्द्र दियालीको हो भने शशिका राई र यसै गीतका संगीतकार प्रशान्त शिवाकोटीको युगल स्वर सुन्न सकिन्छ । रचनाकार दियालीले कौडा गीतको मर्म नमर्ने गरी पहाडी भावमा संवादमूलक प्रश्न-उत्तर गर्दै शब्द बुनेका छन जसलाई संगीतकार शिवकोटीले पनि मादल, झ्याम्टा, सारङ्गी, बाँसुरी आदि बाजाको समिश्रणमा सुहाउँदो संगीत भरेका छन ।

नेपालको लोकसंस्कृतिसँग गहिरो रूपमा जोडिएको पारम्परिक कौडा गीतले यसरी एक पछि अर्को नेपाली फिल्ममा स्पेश पाउँनु आफैमा प्रसंनसनीय पक्ष हो । अनौपचारिक रुपमै पीढी अनुसार हस्तान्तरण हुँदै आएको कौडा गीतलाई जसरी म्यूजिक भिडियोहरुमा मात्र स्पेश दिईरहेको थियो यसरी फिल्महरुमा स्थान दिनु हृदय देखि स्वागत योग्य कुरा हुन । 

तर जसरी पुस्ता अनुसार यो गीत हस्तान्तरण भएको छ त्यस अनुरुपको क्वालिटी क्रिएसनमा भने मेकरहरुले अझै होमवर्क गर्न जरुरी छ । मौलिकता नमारि नयाँ पन पनि थप्न जरुरी छ । जुन यो गीतको निर्माणमा हामीलाई महशुस भईदिएको छ । नाच्दै गाईने भएकाले यस्ता गीत खुशीका भावमा ज्यादा प्रयोग हुन्छन तसर्थ खुशी भनेको उज्योलो हो , सप्तरंगी दृश्य जस्तै हो , बसन्त ऋतुमा फुलेका रंगीचंगी फूल जस्तै हुन तर विडम्बनमा यो गीतमा जुन प्रकारको मौलिकता छ त्यसमा प्रयोग भएको प्रविधिले गीतको दृश्यमा समस्या देखिएको महसुश हुन्छ ।

नेपालका गाउँघरमा पाइने फूलहरूले प्राकृतिक सौन्दर्यका प्रतीक मात्र होइनन्, परम्परागत संस्कार समेत झल्काउछन तसर्थ सजिलै पाईने सयपत्री माला, गोदावारी, घण्टी फूल , लालिगुरास , चम्पा चमेली अनेकन फुलहरु छन ती फूलहरुलाई सजावटमा प्रयोग नगरी स्ट्रिप लाईटको भद्धा प्रयोगले यो गीतको दृश्य भावमा समस्या देखिएको छ । स्ट्रिप लाइटले आँखालाई नै खाईदिदा भिडियोको आउटपुटमा समस्या देखिएको छ । राजेश श्रेष्ठ जस्ता उत्कृष्ट सिनेमाटोग्राफरको काममा कसरी यस्तो त्रुटी हुन पुग्यो हामी सोचमग्न भएका छौँ । स्ट्रिप लाइटिङले दृश्यलाई केही अप्राकृतिक बनाएको महसुस हुन्छ। उक्त लाइट प्रयोग नै गर्नु थियो भने पावर डाउन गर्दै सयपत्री मालाहरुका साथमा प्रयोग गरेको भए मौलिकतामा मिठास झल्किने थियो । जसले गर्दा आँखाले सहन सक्थ्यो । यध्यपी यो गीत आफ्नो मौलिकता अनुसार राम्रै निस्किएको छ । पुजार सार्कीको कौडा गीत जस्तो अलि फाष्ट छैन तर ग्रामरमै बसेको देखिन्छ ।

गीतको मर्म अनुसार कलाकारहरुले पर्याप्त भाव दिएका छन । कोरियाग्राफरले कलाकारहरुलाई गीतको लय अनुसार हात बजाउने, पाउले ताली दिने, गोलो घुम्ने शैली , अगाडि पछाडि सर्ने, एक-अर्काको वरिपरि घुम्ने, तालमा खुत्रुक्क उफ्रने शैली प्रयोग गरेका छन । विग्रिहालेको चाँहि छैन तर महिला कलाकारहरुमा तुलनामा पुरुष कलाकारहरुको नृत्य चाँहि कमजोर छ । तसर्थ दिन प्रतिदिन आफ्नो फिल्मको संख्या बढाईरहेका दयाहाङ राई र खगेन्द्र लामिछानेले अब अभिनय मात्र गरेर अब पुग्दैन । उनीहरुले नृत्यको कक्षा लिनै पर्छ । नाच्न रहर गरेर मात्र हुँदैन । नाच्ने गीत भएका फिल्ममा काम गर्ने हो भने अभिनयका राजाहरुले दुःख नमानि दुई वटा फिल्म छाडेर नृत्यको कक्षा लिदा भविष्यमा देखिने नृत्यमा कसैले पनि प्रश्न उठाउन सक्दैनन जसरी उनीहरुको अभिनयमा कसैले औला ठड्याउने हिम्मत गर्दैनन । फिल्म जेठ ९ गते देखि प्रर्दशनमा आउँदैछ । हेर्नुहोस गीत